उपमेयरको घर तोडफोड र आक्रमण प्रकरण : उपमेयरकै भाइसहित ८ जना पक्राउ


धरान, भदौ २७ । धरानका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र आक्रमणमा संलग्न ८ जना पक्राउ परेका छन् । उपमेयर बेघाका भाइ विष्णु बेघासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मङ्गलवार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका लागि विष्णुलाई नियन्त्रणमा लिएको धरानका डीएसपी नवराज मल्लले बताए । सुरुमा बेघा सहितको समूहले धरान – १५ सूर्यवस्तीका सन्देश राईलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएका थिए । सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेका थिए । पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
पक्राउ पर्नेहरुमा विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई रहेका छन् । त्यस्तै सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्णुको समूहले काटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ ।
सन्देशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको शरीरको कम्मरमा गहिरो चोट लागेको छ भने विष्णुको टाउको र अनुहारमा चोट लागेको छ ।





