यातायातका प्राविधिक प्रमुख ईन्जिनियर यादवका कारण सेवाग्रहीहरु आतंकित


वीरगंज, भदौ २६ । यातायात व्यवस्था कार्यालय वीरगंजका भ्रष्ट प्रवृतिका प्राविधिक प्रमुख ईन्जिनियर नितेश्वर यादवका कारण सेवाग्रहीहरु आतंकित बन्न पुगेका छन् ।
सो कार्यालयमा सेवा लिन आएका सेवाग्रहीहरुसँग ईन्जिनियर यादवले काम गर्नु भन्दा पहिला आफ्ना बिचौलियामार्फत मोलमोलाई गरी बिचौलियाले रकम लिईसकेपछि मात्र काम अगाडि बढाउने गरेको उपभोक्ताहरु बताउँदछन् ।
भ्रष्टाचारको मामिलामा गन्हाईसकेका ईन्जिनियर यादव घुसको रकमको भरमा गाडी जाँच्ने गर्ने गरेको बताईन्छ । रकमको भरमा गाडी जाँची काम नलाग्ने गाडीलाई पनि राम्रो छ भनि ईन्जिनियर यादवले सही गर्ने गरेको स्रोतले जनाएको छ ।
काम नलाग्ने ठुला गाडीहरु कबाडमा परिसकेकोले सम्बन्धित सवारी धनीहरु कर तिर्न नपरोस भन्दै लगत कट्टा गराउन प्राविधिक फाँटमा जाँदा ईन्जिनियर यादवले कबाडमा रहेको गाडीको ईन्जिन र चेचिस नम्बर काट्न मगाई पुनः सवारी धनीलाई जसरी जे हालतमा गाडी छ, मगाउनै पर्छ भनि अनावश्यक झमेला खडा गरी २० हजारदेखि ५० हजारसम्म असुल्ने गर्ने गरेको एक सवारी धनीले नाम नखुलाउने शर्तमा नवलपुर टुडेलाई बताए ।
घुसको मामिलामा दिनदहाडै आतंक मच्चाउदै आएका ईन्जिनियर यादवको व्यवहारले सेवाग्रहीहरु दुःखित बन्न पुगेका छन् । सो प्राविधिक फाँटमा ईन्जिनियर यादवले सेवाग्रहीहरुसँग आफु घुसको रकम नलिई सोही फाँटमा बेतल्बीमा रहेका एक बिचौलिया आशिस दाहाल मार्फत लिने गरेको बताईन्छ ।
सो बिचौलिया कुनै किसिमको कर्मचारी नभए तापनि उनी कर्मचारीको हैसियतमा ईन्जिनियर यादवको निर्देशनमा कुरो छिनोफानो गरी रकम असुलीसके पछि मात्र ईन्जिनियर यादवले सही गर्ने गरेको बताईन्छ । भ्रष्ट प्रवृतिका ईन्जिनियर यादवले कतिपय अवस्थामा गाडीहरु नआए पनि घुसको रकमको बलमा गाडी सही भएको अवस्थामा छ भन्दै सही गर्ने गरेको बताईन्छ ।
गाडी नआएकोमा सवारी धनीहरुसँग ५ हजारदेखि २५ हजारसम्म असुली गर्ने गरेको स्रोतको कथन रहेको छ । कुनै पनि गाडीको नविकरण वा नामसारी गर्नु परेमा कार्यालयमा गाडी ल्याउनुपर्ने अनिवार्य व्यवस्था रहेता पनि ईन्जिनियर यादवले निश्चित रकम लिई गाडी दुरुस्त रहेको भनि प्रमाणित गर्ने गरेको उपभोक्ताहरु बताउँदछन् ।





