राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिइने


काठमाडौं, भदौ २६ । सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन संविधान सभाका अध्यक्ष नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय पनि गरिएको छ ।
‘राजकीय सम्मान दिने र जुन दिन अन्त्येष्टि गर्ने हो त्यो दिन सरकारले बिदा दिने निर्णय भएको छ,’ उनले भने, ‘छोराहरू विदेशमा हुनुहुँदो रहेछ। उहाँहरू आएपछि अन्त्येष्टि गर्ने परिवारका सदस्यहरूले बताउनुभएको रहेछ ।’
हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । सोमबार राती १ बजेर ४० मिनेट जाँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।





