प्रहरीमाथि आक्रमण गरी लुटिएको चाइनिज पेस्तोल र अन्य गरगहना तथा नगदसहित ६ जना पक्राउ


मोरङ, भदौ २४ । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा लटुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेशनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका – ४ बस्ने ३२ वर्षीय नसुदिन मिया, सोही नगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय अलिम मुर्तुजा, मोरङको बुढिगंगा गाउँपालिका – ४ बस्ने ४० वर्षीय रिवजवन मिया, भारत घर भई हाल सुनसरीको दुहबी नगरपालिका – ६ बस्ने ४० वर्षीय मो.आलम, मोरङ बुढिगंगा गाउँपालिका – ५ बस्ने २१ वर्षीय नजरुल मिया र बुढिगंगा गाउँपालिका – ४ बस्ने २५ वर्षीय सिजाम आलम रहेका छन् ।
पक्राउ परेकाहरुबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, रड ३ थान, धारिलो चक्कु २ थान, पेचक १ थान बरामद गरिएको प्रहरीेले जानकारी दिएको छ । बरामद चाइनिज पेस्तोल इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट अपरेशनको लागि खटिएको प्रहरी टोलीलाई आक्रमण गरी लुटिएको रहेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट भारतीय नम्बर प्लेटको बीआर ३८४– ७६८० नम्बरको सुपर स्पेलन्डर र को २२ प ५९०१ नम्बरको आर १५ मोटरसाइकल, एक लाख पचहत्तर हजार दुई सय नेपाली रुपैयाँ र एघार हजार ६ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
त्यस्तै सुनको जस्तो देखिने झुम्का १ जोेर, तिलहरि १ थान, चाँदीको जस्तो देखिने सिक्री १ थान, पाउजु १ जोर र स्मार्ट फोन ११ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट ५ थान बटन फोन र १२ थान मेमोरी कार्ड समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।





