हामी बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमा हिँडेका छौं : देउवा


काठमाडौँ, भदौ २४ । नेपाली कांग्रेसको आयोजनामा आइतबारदेखि बीपी साहित्य महोत्सव, २०८० सुरु भएको छ । पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरिएको हो ।
तीन दिनसम्म चल्ने महोत्सवको कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बिपी कोइरालालाई स्मरण गर्दै उनले प्रतिपादन गरेका राजनीतिक विचार, साहित्यिक कृतिहरु, उनका संघर्षमय जीवन गाथाहरू र उनको सामाजिक, आर्थिक तथा धार्मिक साँस्कृतिक दृष्टिकोण लगायतका विविध पक्षमा विशिष्ठ ज्ञान भएका विद्वान वुद्धिजीवीहरुबाट चर्चा बहस गराई आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्ने यो महोत्सवको उद्देश्य रहेको बताए ।
यस्तै सभापति देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको बताएका छन् । उनले भने ‘बिपी आफैमा वहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधै अजर र अमर नक्षेत्रको रुपमामा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिडेका छौ । मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौ, प्रयत्न गरिरहेका छौं भने नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन् । यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनु भएन, जतिले पाउनु भयो, जति समय पाउनु भयो उहाँहरुले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ । मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ ।’





