यी चार प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना


काठमाडौँ, भदौ २४ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।





