दुर्घटना

    बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ जना घाइते

    असिम कामु
    २०८० भदौ २३ | बिहान ०६:०५ बजे

      बाँके, भदौ २३ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका – ८ शमशेरगञ्ज नजिकै गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । बसमा सवार अन्य २९ जना घाइते भएका छन् ।

      बर्दियाको ठाकुरबाबा नगरपालिका – ९ को बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली सवार ना ७ ख २३२१ नम्बरको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको हो ।

      मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका – ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् । यसैगरी ठाकुरबाबा नगरपालिका – ८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

        कमेन्टहरु