अस्ट्रेलिया पठाइदिने भन्दै ९ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ


काठमाडौँ, भदौ २२ । अस्ट्रेलिया पठाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौको सामाखुसीबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।
उनले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिने र त्यसका लागि २० लाख लाग्ने बताएकी थिइन् । अस्ट्रेलिया पुगेपछि होटेलमा काम गरेर मासिक ३ लाख भन्दा धेरै तलब हुने भन्दै प्रलोभनमा पारेर पीडितबाट पटक पटक गरी जम्मा नौ लाख रुपैयाँ ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रकम लिएपछि श्रेष्ठ सम्पर्कबिहिन भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । विभागको पत्राचारको आधारमा कार्यालयको टोलीले शुक्रबार आरोपीलाई सामाखुसीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





