कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त, एमालेका हिक्मत कार्की बन्ने भए अबको मुख्यमन्त्री


विराटनगर, भदौ २१ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि दोस्रो पटक पदमुक्त भएका छन् । पहिलोपटक २२ दिनमा सर्वोच्च अदालतबाट पदमुक्त बनेका मुख्यमन्त्री थापा दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका हुन् ।
प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिलाई जबरजस्ती आफ्नो पक्षमा मतदान गराएर मुख्यमन्त्री बनेको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा दिएको उजुरीमा फैसला सुनाउँदै सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हाे ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो ।
अब संसद्को सबैभन्दा ठूलो पार्टी नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।





