समाचार

    बेपत्ता भएको दश दिनपछि भेटियो डाक्टर कोइरालाको शव

    नवलपुर टुडे
    २०८० भदौ २० | बिहान ०८:०५ बजे

      उर्लाबारी, भदौ २० । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको दश दिनपछि मृत फेला परेका छन् ।

      झापाको दमक – १ घर भई गत साउन २९ गतेदेखि  मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए । त्यसको भोलिपल्ट सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा कोइराला चढ्ने गाडी, मोबाइल र पर्स भेटिएको थियो । गाडी राखेको क्षेत्रमा लगाइएको सिसिटिभी फुटेज हेर्दा उनी पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिएको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार कोइरालाको शव वराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको अङ्गालोमा मङ्गलबार दिउँसो फेला परेको हो । कोशीमा माछा मार्नेहरूले अङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि स्थानीयले प्रहरी र आफन्तलाई खबर गरेको थियो । मृतकका बुवा दिवाकर कोइरालासहित दमक – १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गरेको हो ।

      डा. कोइरालाको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पोस्टमार्टम पछि आजै उनको शव घर लगिने वडाध्यक्ष न्यौपानेले बताए । 

      प्रहरी स्रोतका अनुसार अन्तिम समयमा कोइरालाले एक जना प्रेमिका सँग संवाद गरेका थिए । ती युवतीसँग बयान लिँदा दूईजनाबीच प्रेम सम्बन्ध रहेको समेत पाईएको छ । आफ्नो प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

      मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ बर्षीय डा. काइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ बर्षभन्दा लामाे समय काम गरेका थिए । उनी घरका एक मात्र छोरा थिए ।

        कमेन्टहरु