अख्तियारको कर्मचारी भन्दै व्यापारीलाई धम्काएर रकम असुली गरेको आरोपमा दुईजना पक्राउ


जनकपुरधाम, भदौ १९ । अख्तियारको कर्मचारी हो भन्दै धम्की दिएर व्यापारीहरूसँग रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गत भदौ ११ गतेदेखि १५ गतेसम्म जनकपुरको जनकपुरधाम उपमहानगरपालिकाभित्रका ७ वटा पसलहरूमा ‘हामी अख्तियारको कर्मचारी हौँ, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौँ, तपाईँको पसल सिल गर्छौँ’ भन्दै धम्की दिएर उनीहरूले रकम असुल गरेको आरोप छ ।
पक्राउ पर्नेमा हंसपुर नगरपालिका – ३ का ३७ वर्षीय अनिल सिंह र ३२ वर्षीय राहुल सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ । उनीहरूले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवैजनामाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको डिएसपी गौतमले बताए ।





