कृष्णनगरमा मनाइयो मानव बेचबिखन तथा ओसारपसारविरूद्धको १७ औं राष्ट्रिय दिवस


कपिलवस्तु, भाद्र १९ । कपिलवस्तुको कृष्णनगरमा आज मानव बेचबिखन तथा ओसारपसारविरूद्धको १७ औं राष्ट्रिय दिवस मनाइएको छ ।
कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह, आफन्त नेपाल, इलाका प्रहरी कार्यलय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर, साना हातहरु, नेपाल आशिष सामाजिक सेवा केन्द्र लगायतको आयोजना तथा महेन्द्र माध्यमिक विद्यालय, सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल, होटल व्यवसायी संघ कृष्णनगरको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस नगरपालिकाको कार्यालयदेखि र्याली निकालेर कृष्णनगरको गोलघरमा समाप्त गरिएको हो ।
गोलघरमा मानव बेचबिखन तथा ओसारपसारविरूद्धको १७ औं राष्ट्रिय दिवस कार्यक्रम कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अध्यक्षता तथा प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता, अतिथिहरूमा वडा सदस्य राहुल मोदनवाल, बसन्ती जीसी, केशर विश्वकर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारीहरू रहेका थिए ।
कार्यक्रममा आफन्त नेपालकी कृष्णनगर शाखा प्रमुख भरोसा खतिवडाले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष रमेश गौतमले उपस्थित सबैमा कार्यक्रम सफलताको शुभकामना दिँदै सबै मिलेर मानव बेचबिखन तथा ओसारपसारविरूद्ध लागेर सभ्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
मानव बेचबिखन तथा ओसारपसारविरूद्धको १७ औं राष्ट्रिय दिवसको अवसरमा हस्ताक्षर अभियान समेत संचालन गरिएको कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले जानकारी दिइन् ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, भद्रभलादमी, स्थानीय, सुरक्षाकर्मी, शिक्षाप्रेमी, विद्यार्थी, सरोकारवाला निकाय लगायतहरूको बृहत उपस्थित रहेको होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । कृष्णनगर नगरपालिका रोजगार तथा राजश्व शाखा प्रमुख ईश्वरी प्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।





