गृहमन्त्री श्रेष्ठले गरे कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन


काठमाडौं, भदौ १९ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (कागबेनी)मा बाढीबाट भएको क्षतिको स्थलगत अनुगमन गरेका छन् । मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी स्थल पुगेर गृहमन्त्री श्रेष्ठले स्थलगत अनुगमन गरेका हुन् ।
गत साउन २८ गते अविरल वर्षासँगै आएको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारीक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्दस्थल, खानेपानी, सिंचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति पुर्याएको थियो ।
क्षतिको अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकतालाई समाधान गर्दै प्राविधिक र योजनाविद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रूपले व्यवस्थित बस्ती बसाइने बताए । उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिनसमेत स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत सामान्य तत्कालीन राहत पुगे पनि त्यो पर्याप्त, व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो । जनताको यस्तो दुखबाट आफू पनि उत्तिकै दुःखित भएको र संघीय, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आजै पार्टीका स्थानीय नेताकार्यकर्तासँग मुस्ताङमा संक्षिप्त भेटघाट गरेका छन् । तीन महिने ‘जनतासँग माओवादी’ अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतामासमेत उत्साह पैदा गरेको उनले बताए ।
भ्रष्टाचार र अपराधका शृङ्खला नियन्त्रण गर्दै सामाजिक न्याय आधारित गुणात्मक आर्थिक विकासको ध्येय पूरा गर्न माओवादी केन्द्र नै बलियो हुनुको विकल्प नभएको, जनतासँगको सम्बन्ध बलियो हुन सक्दा मात्रै पार्टी बलियो हुने कुरालाई गहिरोसँग आत्मसात् गर्न उनले नेताकार्यकर्तालाई आव्हान गरे ।





