धानबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

नवलपुर टुडे
२०८० भदौ १९ | बिहान ०७:०५ बजे

कैलाली, भदौ १९ । जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-३ होल्डिङ सेन्टर नजिकै बस्ने अन्दाजी ३१/३२ की मञ्जु कुँवरको सोमबार राती विद्युतीय धरापमा परेर मृत्यु भएको हो ।
राति करिब ११ बजेतिर जंगली जनावरबाट धानबाली बचाउनका लागी खेतको आलीमा छाडेको करेन्टमा परेर कुँवर गम्भीर घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते भएकी उनको उपचारको क्रममा सोही राति ११ बजेर ५५ मिनेटमा मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
प्रहरीले राति नै खेतमा विद्युतीय धराप राख्ने सोही ठाउँका ४८ वर्षीय जंगलिया चौधरीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।





