सोही अवधारणाअनुसार जिल्लाभरिका २५ विभिन्न गाउँ प्रस्तावित भएकामध्ये ऋषिङ–३ दुबुङ, भानु नगरपालिका–१३ टुटेपानी र व्यास नगरपालिका–१४ रुम्सी स्थलगत अध्ययनका लागि छानिएका थिए । त्यसमध्ये ती गाउँका वर्तमान सामाजिक विकासका पूर्वाधारको अवस्था, स्थानीय सरकारको संलग्नता, पर्यटन विकाससम्बन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनका आधारलाई मुख्य मानकका रूपमा निर्धारण गरी दुबुङलाई छनोट गरिएको उनको भनाइ छ ।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, पर्यटन नीति २०६५ र आदिकवि भानुभक्त क्याम्पसको विधान, २०४९ (संशोधित २०७९) लाई आधार मानी आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँ छनोट गरेको बताइएको छ ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विसं २०४३ मा स्थापित क्याम्पसले गाउँलाई एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेको जानकारी दिए ।
गाउँको वर्तमान सामाजिक विकासका पूर्वाधार, स्थानीय निकायको संलग्नता, पर्यटन विकाससम्बन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनाको आधारमा मितेरी गाउँ छनोट गरिएको उनको भनाइ छ ।
मितेरी गाउँ छनोट भएको गाउँमा दिगो पर्यटन विकास तथा संस्कृति संरक्षणसम्बन्धी काम गरिनेछन् । उक्त गाउँमा जीवन्त पुख्र्यौली पेसा र सीपको संरक्षण साथै अतिथि सत्कार तथा खाना बनाउने, पर्यटन व्यवसाय सञ्चालन, उद्धार तथा पथ प्रदर्शनका सीप, जलविहार गाइड, फोहर व्यवस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक सचेतना, एचआइभी एड्स, गोबरग्यास तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा, महिलाका आधारभूत स्वास्थ्य समस्या समाधानको क्षेत्रमा सहकार्य गरिने जनाइएको छ ।
त्यस्तै पदयात्रा र पर्या–पर्यटन, होमस्टे तथा साधारण लज व्यवस्थापन, स्थानीय परिकारहरूको उपयोग तथा प्रवर्द्धन, वातावरणीय सचेतना, साधारण अङ्ग्रेजी बोलचाल, नेतृत्व विकास, मातृ भाषा र प्राथमिक उपचार, सूचना तथा सञ्चार आदि सम्बन्धी अन्तक्र्रिया, तालिम, गोष्ठी, शिविर तथा प्रदर्शनीका लागि क्याम्पसले स्थानीय सरकार, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय र सहकार्य हुनेछ ।
त्यसैगरी मितेरी गाउँको विषयगत ‘प्रोफाइल’ निर्माण, पर्यटन सेवाको विविधिकरण, सम्पदाको संरक्षण, पर्यटकीय पूर्वाधारको विकास र सौन्दर्यीकरण, सुरक्षा प्रबन्ध मिलाइने छ । साथै कुनै पनि ठाउँमा स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरणको प्रत्याभूति, बाह्रै महिना गन्तव्यसम्म पुग्ने सहज व्यवस्था, व्यवस्थित पदमार्ग, आफूले छनोट गरेको र तिरेको रकमअनुसारको आवास तथा यातायातको गुणस्तर सुनिश्चिता गरिने छ । पर्यटन व्यवसाय खोल्न र सञ्चालन गर्नका लागि सहज प्रक्रिया र आवश्यक सहयोग प्रदान गर्ने उपयुक्त संयन्त्र एवं पद्धतिको विकास गर्नका लागि सम्बन्धित पक्षसमक्ष पैरवीका साथै आवश्यकीय प्राविधिक सहयोग गरिने जनाइएको छ ।