विद्यालयबाट फर्किने क्रममा खोलाले बगाएर दाजु–बहिनीको मृत्यु


काठमाडौं, भदौ १८ । रूकुम पश्चिममा खोलाले बगाएर दाजुबहिनीको मृत्यु भएको छ । आइतबार अपरान्ह ४ बजे विद्यालयबाट फर्किने क्रममा चौरजहारी नगरपालिका–६ घर्तीकाडा बस्ने रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज बुढाथोकी र ६ वर्षीया भावनाको खोलाले बगाएर मृत्यु भएको हो ।
उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको थियो ।
आइतबार दिउँसो हावाहुरीसँगै ठुलो वर्षा भएको थियो । वर्षासँगै आएको बाढीले खोला तर्ने क्रममा मनोज र भावनालाई बगाएको हो । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले नगरपालिकाले किरिया खर्चको प्रबन्ध गर्न लागेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिएका छन् ।





