पेप्सीकोलामा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु सातजना घाइते

नवलपुर टुडे
२०८० भदौ १७ | बिहान ०९:०५ बजे

काठमाडौं, भदौ १७ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
आइतबार बिहान साढे ७ बजे जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडी, बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्डलगायतका अस्पतालमा पठाइएको छ । बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





