अपराध

    गाँजा किन्न जाँदा विवाद हुँदा युवकको हत्या

    नवलपुर टुडे
    २०८० भदौ १६ | मध्यान्ह ०४:०५ बजे

      काभ्रे, भदौ १६ । काठमाडौँको काँडाघारी बस्दै आएका दोलखा मेलुङ गाउँपालिका-१ घर भएका २८ वर्षीय निर्मल बुढाथोकीको हत्या गरेको अभियोगमा दोलखा ‍सैलुङ गाउँपालिका-८ घर भएका २६ वर्षीय सुजन उप्रेतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

      बेथानचोक गाउँपालिका-२ स्थित ढोलखोलामा मंगलबार बिहान निर्मल बुढाथोकी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सुजन उप्रेतीको संलग्नता रहेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले प्रहरी वृत्त लैनचौरको सहयोगमा काठमाडौँ ढल्कुबाट उप्रेतीलाई पक्राउ गरेको हो ।

      प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू लागूऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएकोमा आपसी वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको खुलेको हो । साथै बेथानचोकस्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएपछि तत्काल प्रहरी टोली खटिई गई तलासी गर्दा तिर्थराजको घरबाट सुजनको झोला, पासपोर्ट तथा अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ केजी ७७ ग्राम फेला पारी तिर्थराज समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      जिल्ला अदालत काभ्रेपालाञ्चोकबाट सुजन उपर ज्यान सम्बन्धी कसुर मुद्दामा ५ दिन र तिर्थराज उपर लागूऔषध सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु