बाघको आक्रमणबाट पर्साको ठोरीमा एक जनाको मृत्यु


पर्सा, भदौ १४ । बाघको आक्रमणमबाट पर्साको ठोरी गाउँपालिका– ५ सुवर्णपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय कान्छालाल दोङ रहेका छन् ।
बुधबार राती करिब ७ बजे घर नजिकको बारीमा उनको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार बुधबार बिहान करिब ११ बजे कान्छालालले घरको केही दुरीमा रहेको बारीमा चरनका लागि २ वटा गोरु बाँधेका थिए ।
दिउँसो करिब २ बजे गोरुको अवस्था हेर्न गएका उनी त्यसपछि घर फर्केर आएनन् । परिवारजनले कान्छालाल नफर्केपछि प्रहरीको सहयोगमा खोजतलास गरेका थिए । एउटा गोरु भने बाँधेको किला फुत्काएर घरमा आएको थियो । बारीमा गएर हेर्दा अर्को गोरु बाघको आक्रमणमा परी घाइते अवस्थामा भेटिएको थियो ।
त्यहाँबाट करिब ५० मिटरको दुरीमा कान्छालालको शव भेटिएको थियो । उनको गाला, घाँटी, टाउको, हात लगायत शरीरका विभिन्न भागमा बाघको नङको निशान भेटिएको निरीक्षक राईले बताए ।





