गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित


काठमाडौं, भदौ १२ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बैठकमा मंगलबार केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० को सैद्धान्तिक छलफल निणयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
सो विधेयकमाथि सैद्धान्तिक छलफल गरेर निणयार्थ प्रस्तुत गर्ने समयमा सांसदहरूले नियमापत्ति गर्दै गणपूरक संख्याको विषय उठाएका थिए । सभामुखको निर्देशनपश्चात् तीन मिनेट घण्टी बजाएर संख्या गणना गर्दा ५९ रहेको पाइएको थियो ।
संविधानानुसार कुल सदस्य संख्याको एकचौथाइ अर्थात् ६९ सांसदको उपस्थिति नभइ कुनै पनि निर्णय वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न पाइँदैन । नेपालको संविधानको धारा ९४ मा उक्त व्यवस्था छ ।
त्यसपछि सभामुख घिमिरेले गणपूरक सङ्ख्या नपुगेकोले सदनको बाँकी कार्यसूची स्थगित गर्दै बैठक एक सातापछि अर्थात भदौ १८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।





