नवलपुरको कावासोतीमा ट्रक पल्टिँदा १७ वटा भैंसी र पाडा मरे

नवलपुर टुडे
२०८० भदौ १२ | बिहान १०:०५ बजे

नवलपरासी, भदौ १२ । नवलपुरको कावासोती नगरपालिका- १६ चालिस किलोमा ट्रक पल्टिँदा १७ वटा भैंसी र पाडा मरेका छन् । कपिलवस्तुको चनौटाबाट भैंसी र पाडा लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक आज बिहान सवा ६ बजे पल्टिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार ३६ वटा भैंसी र पाडामध्ये १७ वटा मरेका हुन् । १९ वटा भैँसी र पाडा भने जीवितै रहेको उनले बताए । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
मरेका भैँसी र पाडालाई खाल्डो खनेर पुर्नका लागि स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।





