कोशी प्रदेश

    पर्यटकीयस्थल सभापोखरीमा दर्शनार्थीको भिड

    नवलपुर टुडे
    २०८० भदौ ११ | मध्यान्ह ०३:०५ बजे
    संखुवासभामा रहेको सभा पोखरी ।

      हिले, भदौ ११ गते । पूर्वको गोसाइकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकीयस्थल सभापोखरीमा दर्शनार्थीको भिड बढेको छ । पोखरीमा नागपञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनको भिड हुनेगरेको छ । 

      जनै पूर्णिमामा यस क्षेत्रमा बिशेष मेला लाग्नेगरेको छ । मेला भर्न संखुवासभासहित धनकुटा, तेह्रथुम, भोजपर, झापा, मोरङ, सुनसरीबाट धार्मिक पर्यटक पुग्नेगरेका छन् । अहिले धनकुटा तेह्थुम हुँदैजाने पर्यटकको संख्या उल्लेख्य रहेको छ । 

      धार्मिक तथा प्राकृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य सभापोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा –५ मा पर्ने सभापोखरी धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थल रहेको छ । समुद्री सतहदेखि चार हजार दुई सय ४० मिटरको उचाइमा रहेको सभापोखरीको लम्बाइ २०० मिटर र चौडाइ लगभग १०० मिटर रहेको छ । 

      कुनै पनि बस्ती नरहेको सो स्थानमा हुने भिडभाडलाई तथा सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिका अध्यक्ष भिमबहादुर लिम्बुले जानकारी दिनुभयो । एक सिजनमा पाँचदेखि ८ हजारसम्म धार्मिक पर्यटक यहाँ पुग्नेगरेको उहाँको भनाइ छ । 

      savapokhari1

      वरिपरि अग्ला पहाडले घेरेको पोखरीको बीचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताले सभा गरेको जनविश्वास छ । यहाँ तीन जुरे मिल्के जलजले हुँदै वा संखुवासभाको सदरमुकाम हुँदै ३–४ दिनको पैदलयात्रा पश्चात् सो ठाउँमा पुग्न सकिन्छ । 

      पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभापोखरी रहन गएको किंवदन्ती छ । प्राचीनकालमा ८८ हजार ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभापोखरी हुन गएको धार्मिक विश्वास रहेको छ । प्राकृतिक तथा धार्मिक दुवै कोणमा महत्वपूर्ण सभापोखरी लुम्बा, सुम्बा हिमालको फेदमा छ ।

        कमेन्टहरु