नवलपरासीको भुलही खोला किनारमा एक पुरुषको शव फेला


नवलपरासी, भदौ १० । नवलपरासी (ब.सु.प) को सरावल गाउँपालिका – १ बासास्थित भुलही खोला किनारमा एक पुरुषको शव फेला परेको छ । शव सुनवल नगरपालिका – ११ धुर्कोटफेदी बस्ने २९ वर्षीय बिर बहादुर कुमालको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकका भाइ राजु कुमालले शव पहिचान गरी सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) का सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले जानकारी दिए ।
भलुही खोला छेउमा शव घोप्टो अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बासाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र चौधरीको कमाण्डमा २ जना र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक भिम बहादुर कार्कीको कमाण्डमा SOCO सहित टोली उक्त स्थानमा खटिएका थिए ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य समाप्त गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको थियो । पोस्टमार्टम पश्चात् मृतकका भाई राजुले शव बुझिलगेको डिएसपी पाण्डेयले जानकारी दिए । अहिले अन्य अनुसन्धान कार्य भइरहेको उनले बताए ।





