कोशी प्रदेश

    गौहत्या काण्डाका आरोपीहरूमाथि अनुसन्धान अन्तिम चरणमा, धरौटीमा छुटेकामाथि पनि मुद्दा दायर हुँदैछ

    नवलपुर टुडे
    २०८० भदौ १० | मध्यान्ह १२:०५ बजे

      बुटवल, भदौ १० । कोशी प्रदेशको धरानमा केही दिनअघि सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ ।

      घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै सुनसरीको धरानमा भोज गरिएको थियो ।

      उक्त भोजको भिडिओ युट्युब लगायत विभिन्न सामाजिक संजालमा अपलोड गरेपछि विवाद उब्जिएको हो ।

      सुनसरीका पत्रकार महासंघका अध्यक्षसमेत रहेका अभियन्ता जनकऋषी राईसमेतको संलग्नतामा गाइगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरिएको थियो । भिडिओमा देखिएका अन्य व्यक्तिहरू परिचित होइनन् ।

      प्रजिअ अधिकारीले धरौटीमा छुटेका दुई जनालाई अदालतमा मुद्दा दायर गर्न लागिएको बताइन् । ‘धरौटीमा छुटेकाहरूमाथि मुद्दा दायर हुँदैछ । त्यसपछि भएको घटनामा संलग्नहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।

      भिडियोमा देखिएकाहरू गाई गोरुको मासु नै खाएका हुन् वा यत्तिकै प्रपोगण्डा गरेका हुन् भन्ने अनुसन्धान गर्न केही समय लागेको बताइन् । ‘घटनाको वास्तविकता पत्ता लगाउन अलिकति समय लागेको हो, अब छिट्टै पक्राउ पूर्जी जारी गरेर मुद्दा दायर गरिनेछ,’ उनले भने ।

      भिडियो हाल्ने, सेयर गर्ने तथा सामाजिक सञ्जालबाट आपत्तिजनक टिप्पणी गर्नेहरु पनि छानबिनमा तानिने उनले बताइन् ।

      ‘मूल भिडिओ कसले खिचेको हो, त्यो पत्ता लगाउनु पर्‍यो । साँच्चै गोरुको मासु खाएका हुन् कि होइनन्, खाएका हुन् भने कहाँबाट ल्याए सबै बुझ्नुपर्ने हुन्छ । यसले गर्दा अलिकति ढिलाइ भएको हो । अब मुद्दा दायर गर्ने अवस्थामा पुगेका छौँ,’ उनले भनिन् ।

      कति जनाविरुद्ध मुद्दा दायर हुँदैछ भन्ने उनले जानकारी दिन चाहिनन् । गोपनीयताका कारण को र कति जना यसमा संलग्न छन् भन्ने सार्वजनिक गर्न नमिल्ने पाण्डेको भनाइ छ ।

      नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । गाइगोरु काट्नेहरूमाथि ३ वर्षसम्मको जेल सजायको व्यवस्था छ । तर, खुलेआम गाइगोरु काटेर सामाजिक सञ्जालमा प्रचारप्रसार समेत गर्नेहरूमाथि कारबाही नगरेको भनेर सरकार र प्रशासनको आलोचना भइरहेको थियो ।

      सो गौंहत्या काण्डले धरानमा दुई दिन अघि प्रशासनले निषेधाज्ञासमेत जारी गरेका थिए । निषेधाज्ञा जारी गर्दापनि सुनसरी लगायत अन्य जिल्लाका हिन्दुधर्मलम्वीहरु सडक आन्दोलनमा उत्रेको थियो । तर प्रशासनले निषेधाज्ञा गरेकै कारण सुनसरीको धरानमा कुनै किसिमको अप्रत्याशित घटना हुन पाएन ।

        कमेन्टहरु