प्रतापपुर र सुस्तामा रेस्टुरेन्टको नाममा खुलेआम यौन धन्दा


नवलपरासी, भदौ ९ । पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा रहेका ४ वटा रेस्टुरेन्ट होटेल तथा लजमा खुलेयाम यौन धन्दा भइरहेको पाइएको छ । तर पनि त्यहाँका स्थानीय प्रहरी, व्यापार समिति तथा स्थानीय सरकार मुक दर्शक भएर बसेका छन् ।
प्रतापपुर – ६ हरपुर भन्सार भन्दा ५०० मिटर दुरीमा अवस्थित साथी कटेज एण्ड लज, प्रतापपुर – ७ मा रहेको सुर्यपुरा रेस्टुरेन्ट एण्ड लज, त्यस्तै सुस्ता गाउँपालिका – ३ रेवामा रहेका ग्राउन्ड फलोर कटेज र सुस्ता – ३ मा नै अवस्थित थारू भिलेज यी ४ वटै रेस्टुरेन्टमा आधा दर्जन भन्दा बढी केटी राखी यौन धन्दा गराइ रहेका छन् ।
यी रेस्टुरेन्ट र लजमा धेरै जसो छिमेकी राष्ट्र भारतबाट दैनिक सयौं भारतीय नागरिक आउने गर्दछन् । यस्ता बाहिरका दैनिक यौनकर्मीको आवागमन तथा ग्राहकहरुको भिडभाडको कारणले बिश्वव्यापी एचआइभि एड्स जस्ता यौन रोगको संक्रमण हुन सक्ने बढी सम्भावना भएको र हाम्रो समाजमा रोग सर्नुका साथ नकारात्मक असर पर्न जाने स्थानीयहरुले बताएका छन् ।
यी होटल एण्ड लजमा संचालकहरुले ग्राहकसँग १ हजार देखि १५ सयसम्म लिने र आफूलाई ४ सय देखि ५ सय रुपैयाँसम्म दिने गरेको यौनकर्मीहरु बताउँछन् । यी ठाउँमा सामान्य मजदूर, रिक्साचालक, प्रहरी, व्यापारी, कर्मचारी र राजनीतिज्ञहरु तथा भारतीय नागरिकहरुसमेत ग्राहकको रूपमा आउने गरेको स्थानीयले चर्चा गर्ने गरेका छन् ।
स्थानियहरुले यस विषयमा पटक पटक प्रहरीलाई जानकारी दिँदा पनि प्रहरीले यस कार्य प्रति वास्ता नगरेको बताएका छन् । यसरी खुल्ला रुपमा यस्ता अनैतिक गतिविधि भइरहदा पनि प्रहरी प्रशासन, मौन देखिन्छ ।
कतिपय देशमा वेश्यावृत्ति वैध छ र वैधानिक रुपमै यौन धन्दा संचालन गर्ने वेश्यालय खुलेका हुन्छन् । तर नेपालमा वेश्यावृत्ति अवैध भएता पनि विभिन्न होटेल तथा लज रेस्टुरेन्ट कटेजको नाममा वेश्यावृत्ति तथा यौन धन्दा संचालन गर्ने गर्दछन् ।





