नवलपुरको देवचुलीका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा दुईजना पक्राउ


चितवन, भदौ ९ । नवलपुरको देवचुली नगरपालिका – ३ घर भई चितवको भरतपुर महानगरपालिका – ३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
श्रेष्ठ बिहीबार धादिङको ताल्ती जंगलमा मृत फेला परेका थिए । उनका बाबु तिलक श्रेष्ठले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका – ४ का २५ वर्षीय लादेन भन्ने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका – १ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन् । गौतमलाई धादिङको गजुरी गाउँपालिका – २ मझुवा डाँडाबाट र शाहलाई इलाका प्रहरी लहानको टोलीले उनकै घरबाट पक्राउ गरिएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका दुबै जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए । दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
साउन ३१ गतेदेखि हराएका रचनको शव एकसातापछि ताल्तीको जंगलमा सडेगलेको अवस्थामा भेटिएको थियो ।





