ग्रीसमा तीन नेपालीलाई अपहरण गरी काठमाडौ फिरौती रकम लिने ४ जना पक्राउ


काठमाडौँ, भदौ ८ । ग्रीसमा तीन नेपाली नागरिकलाई अपहरण गरी काठमाडौमा फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काअनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा गत साउन २८ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने २५ वर्षीय सवित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१, मथुरापाटी बस्ने राजन सत्याल अपहरणमा परेका थिए ।
गत जेठ १२ गते सिजनल भिसामा सर्विया गएका उनीहरु त्यहाँ चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण लुकीछिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्तिबाट अपहरणमा परेका थिए । अपहरणकारीले आमाबुवासँग १५ हजार युरो फिरौती मागपछि साउन ३२ गते उनीहरुका आफन्तले ब्युरोमा निवेदन दिएका थिए । फिरौती माग्ने काममा दुबई बस्ने पर्वतको फलेवास नगरपालिका–१ शंखपोखरी निवासी ४२ वर्षका दिलबहादुर थापा र कपिलवस्तुको शिवराज नगरपालिका–१ निवासी ३२ वर्षीय प्रकाश बेलबासे संग्लन रहेको देखिएको छ ।
उनीहरूले काठमाडौंमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीय शिवराज कुँवर र काठमाडौँको तारकेश्वर–५, कुमालटार निवासी ५६ वर्षीय रामेश्वर अर्याललाई फिरौती रकम लिन लगाएका थिए । सोही क्रममा भदौ २ गते अपहरणमा परेका व्यक्तिहरुको परिवारले बुझाएको २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकमसहित गौरीघाटबाट कुँवरलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।
कुँवरलाई नियन्त्रणमा लिएपछि ग्रीसमा बन्धक बनाई राखेका पीडितहरूलाई पनि सकुशल उद्धार गर्न सफल भएको ब्यूरोले जनाएको छ । यस्तै ब्यूरोका अनुसार अर्याललाई ३ गते तारकेश्वरबाट, बेलबासे र थापालाई भदौ ६ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।





