नवलपुरको पुरानो कावासोतीमा दुई वटा बस आपसमा ठोक्किँदा ४ जना घाइते


नवलपुर, भदौ ८ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका – ९ पुरानो कावासोतीस्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ । गएराती पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ख ०७३७ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा कर्णाली प्रदेश ०२-००१ख ०७३७ नम्बरको बसमा सवार सुर्खेतको विरेन्द्रनगर नगरपालिका – १४ का १९ वर्षीय ललित थापा र सोही नगरपालिका – २ का २४ वर्षीय संजय बुढा रहेका छन् । यस्तै मकवानपुरको बागमती गाउँपालिका – ५ बस्ने वर्ष २५ की मोनिका वि.क. र बाराको आदर्श गाउँपालिका – २ बस्ने २६ वर्षीय नरेन्द्र पटेल पनि घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सामान्य चोटपटक लागेकोले मध्यबिन्दु जिल्ला अस्पताल डण्डा उपचारपछि बिहान पौने ६ बजे डिस्चार्ज भइसकेका छन् । प्रहरीले दुबै बस र चालकलाई नियन्त्रणमा लिएको छ । अन्य यात्रुलाई भने आ-आफ्नो गन्तव्य स्थानतर्फ अर्को सवारी साधनमा पठाएको प्रहरीले जनाएको छ ।





