रौतहटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयद्वारा ट्रकमा आगजनी

नवलपुर टुडे
२०८० भदौ ७ | मध्यान्ह ०३:०५ बजे

रौतहट, भदौ ७ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित नुनथर मन्दिर जाने बाटोमा बिहीबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको पैदलयात्री चन्द्रपुर-१ बस्ने ५५ वर्षीया होममाया मगरलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
घटनापछि आक्रोशित आफन्त र स्थानीय बासिन्दाले ट्रकमा आगजनी गरेका थिए । ट्रकमा लागेको आगो निभाउन गएको नगरपालिकाको ना १ झ ६८८ वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर तोडफोड गरेका छन् ।
अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।





