दुर्घटना

    बारा बस दुर्घटना : मृतक सातै जनाको सनाखत

    नवलपुर टुडे
    २०८० भदौ ७ | बिहान ०९:०५ बजे

      बारा, भदौ ७ । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको सनाखत भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै दुर्घटना भएको थियो । 

      दुर्घटनामा मृत्यु हुनेहरू ६ जना भारतीय नागरिक हुन् भने एक जना नेपाली नागरिक छन् । मृत्यु हुनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीया श्रीकान्त चतुरवेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी रहेका छन् । त्यस्तै महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

      बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घाइते यात्रुहरुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै गर्दा बस दुर्घटना भएको थियो ।

      तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

        कमेन्टहरु