विदेशी लगानी प्रतिबद्धता ३८ अर्ब, भित्रियो ७ अर्ब


काठमाडौँ । गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको छ ।
गत आर्थिक वर्ष ३२७ वटा उद्योगमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार २९७ वटा साना, २५ वटा मझौला र ५ वटा ठूलो उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । पर्यटन र सेवामा १३४.४१/१३४.४१, उत्पादनमा २९.९, सूचना तथा प्रविधिमा १६.५, पूर्वाधारमा १०.३, खनिजमा २.१ र ऊर्जा र कृषिमा १/१ प्रतिशत विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था छैन । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ । यसकारण गत आर्थिक वर्षभर ३८ अर्बको लगानी प्रतिबद्धता आएकामा ७ अर्ब रुपैयाँ मात्र रकम भित्रियो भनेर गुनासो गरिहाल्न नमिल्ने सरोकारवाला बताउँछन् ।
नीति तथा संस्थागत सुधार नहुँदा विदेशी लगानी भित्रनुको साटो घट्दै गएको पूर्वउद्योग सचिव चन्द्र घिमिरेले जनाए । ‘संस्थागतको काम गर्ने तौरतरिकामा परिवर्तन हुनुपर्छ, नीतिगत सुधार उत्तिकै आवश्यक छ, यसो नगर्दा लगानी बढ्नुको साटो झनै लगानी घट्दै जान्छ,’ उनले भने, ‘हाम्रो प्रक्रिया झन्झटिलो छ । हामी अहिलेसम्म अटो अप्रुभलमा जान सकेका छैनौं ।’ विश्व विदेशी लगानी डाउनटर्ममा रहेकाले स्वाभाविक रूपमा त्यसको प्रभाव नेपाल भित्रने विदेशी लगानीमा समेत पर्ने उनको भनाइ छ । ‘बजार मन्दीमा छ, त्यसैले लगानीकर्ता आफू बाँच्नतर्फ लाग्छन्, नयाँ लगानी गर्नतर्फ जाँदैनन्,’ उनले भने, ‘मुलुकभित्रको नीतिगत र संस्थागत सुधार हुन नसक्दा लगानीको वातावरण बन्न सकेको छैन ।’
अघिल्लो आर्थिक वर्षदेखि नै प्रत्यक्ष विदेशी लगानी कम भित्रिन थालेपछि सरकारले लचिलो नीति लिएको छ । गत आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोडमा कायम गरिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी क्षेत्रगत रूपमा सीमा तोकिने जनाइएको छ । सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाइने बजेटमा उल्लेख छ ।
पूर्वाधार आयोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने सरकारको योजना छ । वैदेशिक लगानी आकर्षित गर्न ०८० सालमा लगानी सम्मेलन आयोजना गरिने बजेट वक्तव्यमा उल्लेख छ । ‘द्रुतमार्ग, सुरुङमार्ग, जलाशययुक्त जलविद्युत्लगायत सम्भाव्य ठूला परियोजनाको पहिचान तथा पूर्वतयारीका काम सम्पन्न गरी विदेशी लगानीका लागि प्रस्ताव आह्वान गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘विदेशी लगानीकर्ताहरूका लागि विदेशी विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ गर्ने संस्था तोकी हेजिङ सेवा उपलब्ध गराइनेछ ।’ विदेशी लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरलीकृत गर्नेसमेत सरकारले जनाएको छ ।
गत वर्षको कातिकबाट ५ करोडबाट २ करोडमा झरेकाले पनि विदेशी लगानी प्रतिबद्धता घटेको हुन सक्ने उद्योग विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामी बताउँछन् । ‘प्रतिबद्धता रकम केही घटे पनि प्रोजेक्टको संख्या बढ्दो क्रममै छ, त्यसैले विदेशी लगानीको सीमा घटेकाले पनि रकम घटेको हो,’ उनले भने, ‘विश्वव्यापी आर्थिक मन्दी पनि छ, त्यसकै प्रभाव पनि हुन सक्छ ।’
विदेशी लगानी भित्र्याउन पछिल्लो समय अनलाइनमार्फत स्वीकृति लिन सक्ने व्यवस्थासमेत गरिसकेको उनले जानकारी दिए । ‘अनलाइनमार्फत ६ अर्बसम्मको विदेशी लगानीको स्वीकृति लिन सकिन्छ, अटोमेटिक रुट पनि छिट्टै सञ्चालनमा आउँछ,’ उनले भने, ‘हामीले गरेको अध्ययनमा ८३ प्रतिशत विदेशी लगानी एक साताभित्रै स्वीकृति दिएको तथ्यांक छ ।’ त्यसपछिका प्रक्रिया कम्पनी दर्ता, उद्योग दर्ता, राष्ट्र बैंकबाट स्वीकृतिलगायतलाई पनि छिटोछरितो बनाउनुपर्नेमा उनले जोड दिए ।
नेपालमा ५५ राष्ट्रबाट एफडीआई आउने गरेको भए पनि हरेक वर्ष विदेशी लगानीको लाभांशबापत बाहिरिने रकम धेरै छ । पछिल्लो समय लगानी पनि घट्दै गएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष ०७८/०७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । उक्त वर्ष खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो ।
कुल १९ अर्ब २१ करोड ९० लाख भित्रिए पनि ६५ करोड ८७ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएको थियो । त्यसैले खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको हो । आर्थिक वर्ष ०७७/७८ मा नेपालमा कुल १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । ईकान्तिपुरबाट साभार





