बोरामा लुकाएर दुई ओटा बच्चा भारत लैजाँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ


बारा, भदौ ३ । बारामा बच्चा चोरेर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोरामा हालेर दुई ओटा बच्चालाई लैजाँदै गरेको अवस्थामा बाराको दक्षिणझिट्कैयाबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत – ४ आधापुरका २२ वर्षीय तबरेज आलम रहेका छन् । उनले देवताल गाउँपालिका – ३ अमुवाका शिवपुजन महतोका नौ महिनाकी छोरी लक्ष्मी र प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमारलाई बोरामा लुकाएर भारत लैजाँदै गरेका थिए ।
बोराभित्र बच्चा रोइरहेको आवाज सुनेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर अन्तर्गतको दक्षिणझिट्कैया बीओपीका सशस्त्र प्रहरीको टोलीले आलमलाई नियन्त्रणमा लिएका हुन् । प्रहरीले बोरा खोलेर हेर्दा बच्चा भेटिएको र तत्कालै आलमलाई नियन्त्रणमा लिएको हो ।
बोराभित्र भेटिएका बच्चालाई अभिभावक पहिचान गरी जिम्मा लगाइएको र आलमलाई देवापुरस्थित प्रहरी चौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक टोबहादुर डांगीले जानकारी दिए ।





