‘मेरो डान्स युनिभर्स’ मा थाइल्याण्डकी खुसी कार्की र मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई बने विजेता


काठमाडौ, भदौ २ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिर्भस’ मा थाइल्याण्डकी खुसी कार्की र गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् ।
शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा नृत्यतर्फ कार्की र गायनतर्फ राई विजेता भएका हुन् । विजेता बनेसँगै उनीहरुले नगद एक/एक करोड पुरस्कार प्राप्त गरेका छन् । नृत्य प्रतियोगितामा बेल्जियमका देवी गर्बुजा मगर फस्ट रनरअप भएको छ । उनले नगद ३० लाख रुपैयाँ जितेकी छिन् । प्रतियोगितामा सिक्किमका मिङ्मा डी लेप्चा सेकेन्ड रनर अप भएका छन् । यस्तै मिङ्गमाले नगद २० लाख हात पारेको छ ।
गोरखाका स्वस्तिक परियार थर्ड रनरअप भएका छन् । उनले १५ लाख पाएका छन् । फोर्थ रनर अप महोत्तरीका नेशन सुस्लिङ मगर भएका छन् । नेशनले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । प्रतियोगितामा चौथो र पाचौँ हुनेले पनि १० लाख पाउने घोषणा गरिएको छ ।
त्यसैगरी गायनतर्फ फस्ट रनरअप भएका शिशिर थतालले नगद ३० लाख रुपैयाँ जितेका छन् । प्रतियोगितामा सरद हुमागाइँ सेकेन्ड रनर अप भएका छन् । उनले नगद २० लाख हात पारेका छन् । परेश राई थर्ड रनरअप भएका छन् । उनले ५ लाख ५० हजार पाएका छन् । फोर्थ रनर अप साईराज खाती भएका छन् ।
विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायम राख्न र नेपाली भाषा तथा संस्कृतिलाई जोगाइ राख्ने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजक टिमले जनाएको छ ।





