धरानमा गोरु काटेको भिडियो सामाजिक सञ्जालमा हालेपछि राप्रपाको आपत्ति


काठमाडौँ, साउन ३२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धरानमा गोरु काटेको भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको कार्यप्रति आपत्ति जनाएको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक रहेको बताएको हो । सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।
‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो । सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ ।’ प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’






