समाचार

    टीकापुर हत्याकाण्ड रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

    नवलपुर टुडे
    २०८० साउन ३२ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौ, साउन ३२ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्ड रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ । आठजनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा विभिन्न तथ्यले घटनाको मुख्य योजनाकार चौधरी नै रहेको पुष्टि भएको सर्वोच्चले सार्वजनिक गरेको पूर्णपाठमा उल्लेख छ । 

      सर्वोच्च अदालतले उक्त घटनालाई ‘क्रुर, अमानवीय र सभ्य समाजले कल्पनै गर्न नसक्ने घटना’ का रुपमा व्याख्या गरेको छ । फैसलाको पूर्णपाठ नआउँदै राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएर चौधरी जेलमुक्त भैसकेका छन् । तीनै तहका अदालतबाट दोषी ठहर भई जेल परेका उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले गत जेठ १५ मा कैद मिनाहा गरेर रिहा भएका हुन् । 

      तर, सर्वाेच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भएको र त्यसमा चौधरीको संलग्नता ठहर्याइएको छ ।

      ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।

        कमेन्टहरु