रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौं, साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछाने र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा नेपाल र चीनका आपसी हित, चासोका विषयमा छलफल भएको रास्वपाले जानकारी दिएको छ । त्यस्तै, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ ।
उत्तरी सीमा क्षेत्रमा नेपालले बेहोरिरहेको समस्याप्रति राजदूतलाई ध्यानाकर्षण गराएको थियो । जवाफमा सीमा क्षेत्रमा देखिएका समस्या समाधानको पहल लिन चीन तत्पर रहेको राजदूतले बताएको रास्वपाको भनाइ छ । पार्टी सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको पनि अवगत गराएका थिए ।
राजदूतसँगको शिष्टाचार भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल सहभागी थिए ।





