अपराध

    आठ जना बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

    नवलपुर टुडे
    २०८० साउन २८ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौं, साउन २८ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जना बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । आइतबार कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

      प्रहरीले अपरेशन ब्राभो किलो चलाएर सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बंगलादेश गाजीपुर घर भई काठमाडौं महानगर-९ कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर होसेन, बंगलादेश बरिसाल घर भई ललितपुर महानगर-२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मिया र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली छन् । 

      त्यस्तै बंगलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, ढाका घर भई काठमाडौं कपुरधारा बस्ने ३४ वर्षीय जाहङगिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई छन् ।  

      उनीहरूले अपहरण गरेका आठ जनालाई प्रहरीले उद्धार गरिसकेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु