अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत


काठमाडौं, साउन २७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढिरहेको बताए । नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै उनले व्यापार व्यवसायका लागि नेपाल विदेश भन्दा सबै किसिमले राम्रो रहेको दाबी गरे ।
‘अहिले कोरोना भाइरसलगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरुले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहका छन्,’ उनले भने ।
मन्त्री महतले नेपालको अहिलेको चुनौति भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको औंल्याए । सरकारले आइटी क्षेत्रमा लगानी गर्नेका लागि राम्रो अवसर दिएको दाबी गर्दै आइटी क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।
उनले आइटी क्षेत्रको प्रवर्द्धन गर्न ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको पनि बताए ।





