समाचार

    नवलपरासीको प्रतापपुरमा स्थापित सीजी पोलिटेक्निकबाट ७३ स्थानीय युवाले तालिम लिए

    नवलपुर टुडे
    २०८० साउन २७ | बिहान ११:०४ बजे

      नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको सीजी पोलिटेक्निकलबाट हालसम्म ७३ युवाले प्राविधिक तालिम पुरा गरेका छन् । सो मध्ये ३४ जनाले इलेक्ट्रिक र ३९ जनाले मेकानिकलको तालिम पूरा गरेका हुन् ।

      नवलपरासी जिल्लाका प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाका युवाहरुले ६ महिने तालिम पुरा गरेका हुन् ।

      पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरुलाई प्राविधिक शिक्षा दिने गरी पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् । उनले निर्वाचनका बेला युवाहरुलाई स्वरोजगार बनाउन पोलिटेक्निक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।

      चुनावी प्रतिबद्धताअनुसार उनले निर्वाचित भएलगत्तै पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् । कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । चौधरीले प्राविधिक शिक्षाले युवाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने बताए ।

      शुक्रबार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सीजी पोलिटेक्निकद्वारा सञ्चालित इलेक्ट्रिक र मेकानिकल तालिमका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने, ‘देशभित्र रोजगारीका क्षेत्रहरु सिमित छन् । युवाहरुले सहजै रोजगारी पाइरहेका छैनन् । त्यसका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्छ । प्राविधिक शिक्षा भयो भने युवाहरु आफै स्वरोजगारमूलक काम गर्न सक्छ । उनले नेपालबाट अदक्ष कामदार श्रमका लागि बिदेश गइरहेको उल्लेख गर्दै प्राविधिक शिक्षा भए युवाहरुले विदेशमा पनि राम्रो काम पाउने बताए ।

      ‘सरकारको प्राथमिकता देशभित्रै युवाहरुलाई रोजगारी दिने हुनुपर्छ । युवाहरुलाई उद्यमशीलतासँग जोड्नु प्राविधिक शिक्षा बढी प्रभावकारी हुन्छ,’ उनले भने, ‘देशमा अवसर नपाएपछि युवाहरु विदेशिनु पर्ने बाध्यता छ । त्यसका लागि प्राविधिक ज्ञान भएका दक्ष जनशक्ति पठाउन सकियो भने हाम्रा भाईबहिनीहरुले पनि राम्रो काम पाउँछन् । सेवा सुविधा पनि राम्रो हुन्छ ।’

      कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद देवकरणप्रसाद कलवारले प्राविधिक शिक्षाले त्यस क्षेत्रका युवाहरुलाई रोजगारी पाउन सहज हुने विश्वास ब्यक्त गरे ।

      त्यसैगरी प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले गाउँमा प्राविधिक शिक्षा पाएपछि युवाहरु लाभान्वित भएको बताए । सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पनि प्राविधिक शिक्षाको महत्वमाथि जोड दिए ।

      दोस्रो चरणको तालिमका लागि तयारी सुरु भएको सीजी पोलिटेक्निकले जनाएको छ ।

        कमेन्टहरु