समाज

    सिडिओले घरमै पुगेर ८९ वर्षीया गिठादेवीलाई दिए नागरिकता

    नवलपुर टुडे
    २०८० साउन २७ | बिहान ०९:०४ बजे

      बझाङ, साउन २७ । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँकी हुन् ८९ वर्षीया गिठीदेवी जोशी ।

      गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन् । सदरमुकाम नजिकै रहेपनि ८९ वर्षपछि नागरिकता लिएकी हुन् उनले । यसअघि नागरिकताको महत्व र आवश्यकता थाहा नहुँदा उनले नागरिकता लिएकी थिइनन् । पछि उनकै छोरा गोरिलालले आफ्नी आमाले नागरिकता नपाएकोबारे प्रशासनलाई खबर गरेका थिए ।

      त्यसपछि प्रमखु जिल्ला अधिकारी नारायण पाण्डेयको टोली उनकै घर पुगेर गिठादेवीलाई नागरिकता दिएको हो । ‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।

      प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी पनि देखिए । सरकारले दिने सेवाबारे उहाँ जानकार हुनुहुन्नथ्यो जसले उहाँ सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।

      नातिभन्दा पछि बज्यैको नागरिकता

      गिठादेवीको विवाह २०२० मा मष्टा गाउँपालिका-३ भातखोलाका कृष्णप्रसादसँग भएको थियो । गौरीलाल कृष्णप्रसादका जेठी श्रीमतीतर्फका छोरा हुन् । उनी अहिले ६१ वर्ष भए । गौरीलालले २०४२ सालमै नागरिकता लिइसकेका छन् । गौरीका छोरा छोरीले पनि नागरिकता लिइसकेका छन् ।

      कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन् । पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ । ‘सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन,’ उनले भने ।

      गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उहाँहरूले घरमै आएर नागरिकता दिनुभएको गौरीलालले बताए । रासस

        कमेन्टहरु