एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

नवलपुर टुडे
२०८० साउन २६ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
शुक्रबार दिउँसो बसेको बैठकको सुरुमै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । तर सांसद साहले बोल्न थालेपछि सत्तापक्ष सांसदहरु उभिएर बैठक अवरुद्ध गरेका थिए ।
होहल्लाका बीच सांसद साहले आफ्नो भनाई राखेपछि एमाले सांसदहरु नाराबाजी गर्दै सभामुखको आसन घेर्न पुगेका थिए । बैठक प्रारम्भ भएको १५ मिनेटपछि सभामुख घिमिरेले साउन २९ गते दिउसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।





