देश

    ब्लु बसको रङ कायमपछि नयाँ रुट इजाजत दिइयो

    नवलपुर टुडे
    २०८० साउन २६ | बिहान ०७:०४ बजे

      भरतपुर, साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ ।

      यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो । कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ ।

      “बसले बिलबुक र प्राविधिक जाँच पासबुकमा भरिएको रङ अनुसार कायम गरेर आएपछि हामीले रुट इजाजत पनि परिवर्तन गरिदिएका छौँ,” अधिकृत चपाईले थप्नुभयो, “अब गाडीको रुट कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम भएको छ ।”

      सांसद लामिछाने निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा साउन १७ गते घोषणा भएको कार्यक्रममध्येको एक चितवन २ का महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन भएको हो । बस सञ्चालनका क्रममा रुट अनुमति र रङका बारेमा समस्या रहेको समाचार गोरखापत्रले सार्वजनिक गरेपछि यसको आलोचना सुरु भएको थियो । बसधनी भीमबहादुर तामाङले आफूहरूले नबुझेर नै समस्यामा परेको बताउनुभयो ।

      “बसको रुट अनुमति वीरगन्जदेखि नारायणगढ–पोखरा–बागलुङ थियो तर हामीले चितवनको भित्री सडकमा चलाउँदा समस्या हुँदैन होला भन्ने सोचेका थियौँ,” उहाँले भन्नुभयो । रङका सवालमा पनि बिलबुकमा भए अनुसार आफूहरूले परिवर्तन गरेको उहाँले जनाउनुभयो ।

      “बसको अगाडिको वर्नटमा सेतो लगाएका छौँ । बसको दुवैतर्फ साइडमा धर्सा बनाएर मोडलिङ गर्दै सेतो, पहेँलो, गुलाबी र सिल्भर रङ लगाएका छौँ, जुन बिलबुक र जाँचपास प्रमाणपत्रमा उल्लेख भएको रङ हो,” उहाँले भन्नुभयो । यसअघि बसलाई पूरै नीलो बनाइएको थियो । नीलो मात्रै सञ्चालन गर्न नदिने अडान यातायात कार्यालयले राखेपछि बाध्य भएर रङ परिवर्तन गरिएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ । 

        कमेन्टहरु