लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष्य ल्हारक्याल लामाले गरे पदभार ग्रहण


बुटवल, साउन २५ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार ग्रहण गरेका छन् । लामालाई मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि कोषको उपाध्यक्षमा मनोनीत गरेको हो ।
बिहीबार पदभार ग्रहण गर्दै लामाले लुम्बिनीको इज्जत र पवित्र भूमिको बदनाम नगर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मलाई पत्याएर काम गर्न सक्छ भनेर यहाँ पठाउनुभएको छ । गौतम बुद्ध, मायादेवी मन्दिर साक्षी राखेर काम गर्छु । लुम्बिनीको इज्जत, पवित्र भूमिको बदनाम गर्नेछैन । कुनै खालको भ्रष्टाचार, अनियमितता, कुनै खालको मिसयुज गर्नेछैन । सबैसँग समन्वय गरेर काम गर्नेछु ।’
तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल साउन दोस्रो सातामा सकिएपछि उपाध्यक्ष पद रिक्त थियो । कोषको संरक्षक प्रधानमन्त्री र अध्यक्ष संस्कृति मन्त्री रहने व्यवस्था लुम्बिनी विकास कोष ऐन, २०४२ मा छ ।
विवादास्पद छविका लामालाई काेषकाे जिम्मेवारी दिएकाे भन्दै अहिले सरकारकाे आलाेचना भईरहेकाे छ । लामा वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।





