देश

    वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने श्रमिकका परिवारले पाउने सेवा सुविधा वृद्धि गर्दै सरकार

    नवलपुर टुडे
    २०८० साउन २४ | मध्यान्ह ०६:०४ बजे

      काठमाडौँ, साउन २४ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधामा वृद्धि गर्न लागिएको छ । वैदेशिक रोजगारीको क्रममा विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्न लागिएको हो । 

      सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालदेखि दिने गरेको सुविधा अहिले समयअनकुल नभएकाले वैदेशिक रोजगार बोर्डले वृद्धि गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए । सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो । आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पुर्‍याइएको थियो । 

      बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा सचिव भण्डारीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्‍याउने तयारी रहेको बताए । उनले मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रावृत्ति ८ हजार र १२ हजार प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने तयारी रहेको बताए । 

      भण्डारीले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको जानकारी दिए ।

        कमेन्टहरु