साउने सोमबारः डेढ लाख भक्तजनले गरे पशुपति दर्शन


काठमाडौँ । सौरमासअनुसार साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन्।
साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन्। भक्तजनलाई सुविधा दिने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।
पशुपति क्षेत्रमा विशेषगरी सोमबारको व्रत बसी हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनको भीड लागेको थियो।
साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शुद्ध जलमात्र भगवान् शिवलाई चढाएमा प्रशन्न भई मनावाञ्छित फल दिने विषय शिवपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ। यसै विश्वासका आधारमा लाखौँ भक्तजनको साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा भीड लाग्ने गरेको हो।
साउने सोमबारका अवसरमा आज एक सय ४१ जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन्। विशेष पूजाका लागि साउनको सोमबार रु सात हजारभन्दा माथिको मात्र रसिद काटिएको कोषले जनाएको छ।
ओम बोल बम काँवरिया सङ्घका १५ हजारभन्दा बढी भक्तजनले आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेको जानकारी पनि उनले दिए। शुद्ध जल लिन बोल बम यात्री आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए। बिहानै स्नान गरी शुद्ध जल ल्याएर भक्तजनले पशुपतिनाथमा अर्पण गरेका हुन्।
पशुपतिनाथ मन्दिरमा पूजा, आराधना र दर्शनका लागि आउने भक्तजनलाई आज पशुपति क्षेत्रका चार स्थानबाट चन्दन बाँडिएको थियो। सानो सदावर्तअघि, घ्याम्पेपाटीअघि, चतुःषष्टि लिङ्गअघि र वरुणधारा छेउबाट चन्दन बाँडिएको थियो।
साउनको चौथो सोमबार पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौँ उपत्यकाका शिव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको थियो। देशका अन्य ठूला, साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ। रासस





