गृह मन्त्रालयले पठायो जाजरकोट र अछाममा नयाँ प्रजिअ


काठमाडौँ, साउन २२ । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सीडीओ) पठाएको छ । जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् ।
यस्तै अछाममा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेललाई पठाइएकाे छ । अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनकाे स्थानमा पाेखरेललाई पठाइएकाे हाे ।
सुनारसँग यसअघि मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभव छ । उनी डोल्पा र बझङमा प्रजिअ भइसकेका छन् ।
पोखरेलसँग मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भइसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअ भएर काम गरिसकेका गृह स्रोतले जानकारी दिएको छ ।





