सुन तस्करी प्रकरणका १७ आरोपितलाई विभागबाट सीआईबीको हिरासतमा ल्याइयो


काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपितलाई आइतबार साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा ल्याइएको छ।
आज सोमबार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्ने उनले बताए।
यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए। उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको हो। उक्त प्रकरणमा अब सीआईबीले आर्थिक लगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ।
विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो। उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।
अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन्।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताए। रासस





