मलेसियामा बसको ठक्करबाट एक नेपाली युवकको मृत्यु


रामजी प्रजापति
मलेसिया, साउन २१ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली युवकको बसको ठक्करबाट मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–१ अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर श्रेष्ठको शुक्रबार बिहान आफू कार्यरत काजाङको सोनी ईएमसिएस मलेसिया एसडिएन बिएचडी कम्पनी परिसरमा कम्पनीकै बसको ठक्करबाट मृत्यु भएको हो ।
ललितप्रसाद श्रेष्ठ र इन्द्रकुमारी श्रेष्ठका छोरा हेमबहादुर पाँच वर्षअघि विवाह गरेर मलेसिया रोजगारीमा आएका थिए । मोरङ बेलबारीकी बिनिता श्रेष्ठसँग प्रेम विवाह गरेर मलेसिया आएका श्रेष्ठ त्यसयता नेपाल फर्किएका थिएन । उनको बालबच्चा पनि छैनन् । कमाइ पनि राम्रो हुने र काम पनि सजिलो हुने भन्दै विवाह गर्नासाथ हेमबहादुर मलेसिया आएका थिए ।
मलेसियामा भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको खबरले परिवारका सदस्यसहित छरछिमेकी पनि शोकमग्न भएको छ । मलेसियामा बसले ठक्कर दिइएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको कम्पनी स्रोतले बताएको छ ।
साथै मृतक हेमबहादुर श्रेष्ठलाई बसले ठक्कर दिएको घटनालाई निष्पक्ष छानबिन गर्नुपर्ने र शवलाई नेपाल पठाइ उनको परिवारलाई उचित क्षतिपुर्ती रकम दिनुपर्ने लगायतको माग सोही कम्पनीमा कार्यरत नेपाली कामदारहरुले कम्पनी सामु अगाडि सारेका छन् । अन्य घाइते कामदारहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
यसअघि पनि मलेसिया आएका श्रेष्ठ पाँच वर्षअघि विवाह गर्न भनेर घर फर्किएका थिए । घर फर्किएपछि विवाह गरेका श्रेष्ठ श्रीमतीलाई आमाबुबाको साथमा छाडेर लगत्तै मलेसिया फिर्ता आएका थिए । उक्त घटनाबारे कानुनी अनुसन्धान र पोस्टमार्टम सकिए पश्चात् सबै प्रक्रिया पुर्याएर शवलाई नेपाल पठाउने तयारी भइरहेको मलेसियास्थित नेपाली दूतावासले बताएको छ ।





