सय किलो सुन तस्करी प्रकरण : सीआईबीले सुरु गर्यो अनुसन्धान


काठमाडौं, साउन २१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अनुमानित सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा संगठित समूह सक्रिय देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको हो ।
विभागले नियन्त्रणमा लिएका १८ जनाको मोबाइल फोनबाट आफूहरूले प्राविधिक विश्लेषण थालेको सीआईबी स्रोतको भनाइ छ । विभागले थप अनुसन्धानका लागि औपचारिक रूपमा प्रहरीसमक्ष पत्र नपठाएपनि प्राविधिक रूपमा अनुसन्धान त थालिसकेको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बताए ।
पक्राउ परेकामाथि सुरुमा प्रहरीको सहयोगमा विभाग आफैँले अनुसन्धान अघि बढाएको थियो । सुन बरामद गरिएको २० दिनपछि भने विभागले बाँकी अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिने निर्णय गरेको हो ।





