अर्थ

    उत्पादनमा कमी र भारत निर्यात भएका कारण गोलभेँडाको मूल्य वृद्धि

    नवलपुर टुडे
    २०८० साउन २१ | मध्यान्ह ०१:०४ बजे

      काठमाडौँ, साउन २१ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेँडाको मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरूले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । 

      तर ठिक एक महिनापछि गोलभेँडाको मूल्य एक्कासि बढेको व्यवसायीहरूले बताए । उनीहरुले पछिल्लो समय किसानहरूले उत्पादन गरेको गोलभेँडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए । व्यवसायीहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको, भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेँडा फालिएको बताए ।

      कालीमाटी फलफूल तथा तरकारी बजारको गोलभेँडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन कम भएको बताइन् । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन् ।

      पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेँडाको मूल्य उच्च रूपमा बढेको तारादेवीको भनाइ छ । उनले एक महिनाअघि नेपाली उत्पादन गोलभेँडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेँडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताइन् । नेपाली बजारमा गोलभेँडाको कमी भएको अवस्थामा भारतमा गोलभेँडा निर्यात गर्दा मूल्य वृद्धि भएको उनले बताइन् । यदि गोलभेंडा भारत नगएको भए नेपालमा ५० रुपैयाँ किलोभन्दा माथि जाने अवस्था नभएको मगरको भनाइ छ ।

      कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेँडाको ठुलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।

        कमेन्टहरु